धरान: रुकुम पश्चिम(सोती)मा नवराज बिकसहित ६ जनाको हत्या भएको काण्ड जातीय विभेदको पराकाष्ठ भएको स्थलगत अध्ययन टोलीले ठहर गरेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको नेतृत्वमा मानवअधिकारकर्मी, पत्रकार तथा कानुन व्यवसायीहरुको ५ सदस्यीय अध्ययन टोलीले स्थलगत अध्ययन पश्चात तयार गरेको प्रतिवेदनले यस्तो ठहर गरेको हो । प्रतिवेदनको निष्कर्षमा उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन भन्ने उल्लेख छ । उक्त प्रतिवेदन हिजो शुक्रबार धरानमा पनि संघको सुनसरी जिल्ला कार्यसमितिले सार्वजनिक गरेको थियो । प्रतिवेदनको निष्कर्ष पढेर सुनाउदै संघका प्रदेश १ सचिव रणध्वज लोहारले भने,‘जातका आधारमा घटित उक्त घटना पुर्वयोजना अनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाउँको पुलमा थुन्नुको साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।’

घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, सथनीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभुमी हेर्दा उक्त घटना नियोजितरुपमा भएको प्रतिवेदनमा उल्लेख छ । हत्या काण्डलाई लकडाउन उल्लंघन गरेको तथा भागदौडका क्रममा आफै भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको पनि अध्ययन टोलीको निष्कर्ष छ । ‘घटनाको जरिया(जड) अन्तरजातीय प्रेम सम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछुतकै कारण उक्त प्रेम सम्बन्ध अस्वीकार्य भई सामुहिक हत्या भएको देखिन्छ,’प्रतिवेदनको निष्कर्षमा उल्लेख छ ।

अध्ययन टोलीका संयोजक गोपाल बराईली थिए भने सदस्यहरुमा बद्रीप्रसाद भुसाल, राष्ट्रिय दलित पत्रकार संघका भीम घिमिरे, समता फाण्डेशन गोपाल नेपाली र राष्ट्रिय दलित पत्रकार संघका चिन्ता परियार रहेका थिए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा अधिकारकर्मी गंगा कालिकोटे र संघका जिल्ला अध्यक्ष दिनेश गजमेरले पनि आफ्नो धारणा राखेका थिए ।

अध्ययन टोलीको सुझाव

अध्ययन टोलीले घटना सुनियोजित तरिकाले षडयन्त्रमुलक ढंगबाट भएकोले गहन तरिकाले अनुसन्धान गर्न पनि सुझाव दिएको छ । हत्यामा संलग्न व्यक्तिहरु र हत्याका मतियारहरुलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने, जातीय विभेदको कारण हुने हत्या, हिंसाविरुद्ध सबै राजनीतिक दल, संचारमाध्यम, नागरिक समाजको एकीकृत पहलकदमीको आवश्यकता रहेको पनि सुझाव छ ।

यस्तै, मृतक परिवार तथा घटनाका घाइते, प्रत्यक्ष देख्ने साक्षी, सर्जमिनका व्यक्तिहरु, मौकामा कागज गर्ने व्यक्तिहरुको जीउ ज्यानको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने पनि अध्ययन टोलीको सुझाव छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उचित मनोपरामर्श तथा उपचारको व्यवस्था गर्नुपर्ने, जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई साँस्कृतिक सहिद घोषणा गर्नुपर्नेलगायत सुझाव छ ।

dalit1
dalit4dalit5 1