धरान: आजदेखि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुदैछन् ।
पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । सरकारले देशभरका सरकारी कार्यालयहरुलाई असार १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । बैंक, वित्तीय संस्था, सहकारी, विमालगायतका निजी कार्यालयहरुले पनि आजबाट सेवा सुचारु गर्नेछन् । शिक्षण संस्थाका कार्यालय पनि खुल्नेछन् । कार्यालय सञ्चालन गर्दा कर्मचारी तथा सेवाग्राहीहरुले भौतिक दुरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालाना गर्नुपर्नेछ ।
कार्यालयमा भीडभाड हुन नदिन टोकन प्रणाली अपनाउन, कार्यालय प्रवेश अघि साबुन पानीले हात धुने, मास्क लगाउने वा स्यानिटाइजर लगाउने लगायतको प्रबन्ध कार्यालयमा गर्नुपर्नेछ । यसैगरी सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन तथा ब्युटीपार्लर, स्वीमिङ पुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, यात्रुबाहक सवारीसाधन पनि सञ्चालन हुने छैनन् ।