धरान: नाबालिका बलात्कार आरोप लागेका धरानका युवा नेता श्रीप्रसाद सुब्बा पुर्पक्षको लागि थुनामा गएका छन् ।
सुनसरी जिल्ला अदालतमा हिजो थुनछेक बहस पछि उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका २ नम्बर इजलाशका जिल्ला न्यायाधिश धर्मराज पौडेलको इजलाशले सुब्बालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । ‘जर्बजस्ती करणी मुद्दाका प्रतिवादीलाई २ नम्बर इजलाशका माननीय जिल्ला न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट थुनामा पठाउने आदेश भएको छ,’स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले भने ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पनि बलात्कार मुद्दाका आरोपी सुब्बालाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको बताए । एक ८ बर्षीय नाबालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले सुब्बालाई जेठ ८ गते पक्राउ गरेको थियो । उनी तत्कालिन संघीय समाजवादी पार्टीको युवा संगठनको १ नम्बर प्रदेश कमिटि अध्यक्ष हुन् । उनीविरुद्ध जेठ ५ गते प्रहरीमा उजुरी परेको थियो ।