धरान: अवैध औषधी घरमा नै राखेर बिक्री गर्ने एक महिलासहित दुई जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १५ की २३ बर्षीय मनिषा राई र धरान ५ का २९ बर्षीय उमेश राई रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार मनिषाले घरमा अवैध ट्रामाडोललगायत औषधी राखेर बेचबिखन गर्ने गरेको सुचना आएको थियो । सोही सुचना अनुसार हिजो दिउँसो करिब साढे ३ बजे उनको घरमा खानतलासी लिदा प्रहरीले डाइक्लोमाइन हाइड्रोक्लोराइड ट्याब्लेट ३५५ र ट्रामाडोल क्याप्सुल ३५५ फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उक्त अवैध औषधी बेचबिखन गर्ने कार्यमा संलग्न मनिषा र उमेश दुवैलाई आज आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार वरामद भएको औषधी लागुऔषधमा नपरे पनि अनुमति नलिई अनधिकृतरुपमा बिक्रीविरतण गर्न पाइदैन । ‘लागुऔषधभित्र नपर्ने तर अनधिकृतरुपमा बिक्रीवितरण गरेकोले कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको हो,’डिएसपी बस्नेतले भने,‘तर उनीहरुले लागुऔषधकै प्रयोजनको लागि ल्याएको रहेछ ।’
डिएसपी बस्नेतका अनुसार २, ३ वटा औषधी मिसाए पछि लागुऔषध तयार हुन्छ । उनीहरुले त्यही उद्देश्यले ती औषधी ल्याएको र बिक्री वितरण गर्ने गरेको खुलेको पनि बस्नेतले बताए । ‘मनिषासँगै उमेश पनि फेला परेको हो, उनीहरुले नशाको रुपमा प्रयोग गर्ने र बेच्ने उद्देश्यले नै ल्याएको हो,’डिएसपी बस्नेतले भने ।