धरान: विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोभिड १९ बाट सृर्जना भएको तनावलाई कसरी व्यवस्थापन गर्ने भनेर धरानका सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।
रुपान्तरण नेपाल सुनसरीको आयोजनामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी अभिभुखीकरण कार्यक्रम भएको हो । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले कोभिड १९ को महामारीको बेला पत्रकारहरु पनि फ्रन्टलाइनमा रहेर खटिने भएकोले जोखिममा हुने र धेरै मानसिक तनाव भोग्नु पर्ने भएकोले कार्यक्रमबाट लाभ पुग्ने बताए । उनले पत्रकारहरुलाई लक्षित गरेर नै निर्वाचन विकास कार्यक्रम अन्र्तगत बजेटबाट कार्यक्रमको लागी सहयोग गरिएको बताए ।
सुरूवातदेखि नै नेपालमा कोभिड १९ प्रति जनताहरू सचेत भएको भएपनि हाल संक्रमणको संख्या बढीरहेको साथै लकडाउन खुकुलो भएको कारण पनि चुनौती रहेको सभामुख भण्डारीको भनाई थियो । उनले कोरोना संक्रमणको चुनौती न्युनिकरणका लागी प्रदेश सरकारले सबै तरिकाले कदम चालेको पनि बताए । पत्रकारहरुलाई वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता तथा मनोचिकित्क डा. निदेश सापकोटाले सहजीकरण गरेका थिए । उनले तनाव के हो ? तनाव कसरी हुन्छ ? तनावलाई किन व्यवस्थापन गर्नुपर्छ ? तनावका लक्षणहरु के हुन् ? तनाव व्यवस्थापन गर्ने उपायहरूको विषयमा सहजीकरण गर्नुका साथै व्यवहारिक ज्ञान पनि दिलाएका थिए ।
पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले कोडिभ १९ को कारण नेपालको पत्रकारिता क्षेत्रमा पनि ठुलो असर पुगेको कारण पत्रकारहरु धेरै तनावमा भएको बेला यो कार्यक्रम प्रभावकारी भएको धारणा राखे । मिडिया हाउसहरु बन्द भएको कारण तलब पाउने अवस्था नहुदा धेरै पत्रकारहरु तनावग्रस्त अवस्थामा भएको उनको भनाई थियो । यो कार्यक्रमले धरानका पत्रकाहरुलाई धेरै हदसम्म तनाव कम गर्ने उपाय सिकाएको भन्दै उनले आयोजक र डा.सापकोटालाई आभार प्रकट गरेका थिए ।
कामको चापले गर्दा पत्रकारहरु सधै तनावमा हुने र कोभिड १९ को बेला झन बढी तनावमा भएको कारणले तनावलाई व्यवस्थापन गर्नको लागि अभिमुखीकरण कार्यक्रम गरिएको आयोजक संस्था रुपान्तरण नेपालकी अध्यक्ष सविता राईले बताइन् । कार्यक्रममा धरानका ३५ जना पत्रकारहरु सहभागी थिए । यो कार्यक्रम १ नं. प्रदेशको निर्वाचन क्षेत्र विशेष कार्यक्रमको सहयोगमा भएको हो । कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु मास्क, पञ्जा, सेनिटाइजर पनि वितरण गरिएको थियो । तस्विरः बिकास चाम्लिङ राई