सुनसरी: सुनसरीको कोशी गाउपालिका ७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत १ का २० बर्षीय लक्ष्मण कुमार पासवान र १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिई उनीहरुको शरीर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाएर राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतीय रुपैया १२५० र भारतका विभिन्न बैंकका एटिएम कार्ड समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको र अनुसन्धान पश्चात आज सार्बजनिक गरिएको उक्त कार्यालयले जनाएको छ ।