धरान: विदेशबाट आउने मानिसहरुको संख्या वृृद्धि हुदै गएपछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनले धान्न नसक्ने अवस्था सृर्जना भएको छ ।

एन्फा क्वारेन्टाइनको क्षमता ६१ जनाको मात्र छ । हिजो साँझसम्म कुल संख्या ६४ जना पुगेको थियो । केही व्यक्तिहरु दिनभर जसो बाहिरै बस्न बाध्य भएका थिए । साँझ ६ जना होटलको क्वारेन्टाइनमा गएको स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिइन् । उनका अनुसार ती मध्ये ५ जना माल्दिभ्सबाट आएका हुन् भने २ जना भारत र एक जना कुवेतबाट आएका हुन् ।

क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष मनोज भट्टराई धरानमा कम्तीमा ३ सय क्षमताको क्वारेन्टाइन आवश्यक भएको बताउँछन् । यसको लागि अन्य वडा वा स्थानमा पनि व्यवस्थापन गरिनुपर्ने उनले बताए । ‘यहाँ ६१ जनाको क्षमता छ, तर दिनमै ३०, ४० जना मानिस आइरहेका छन् । यहाँबाट डिस्चार्ज भएर खाली नभै राख्न सक्ने अवस्था हुदैन,’उनले भने,‘हिजो ६ जनालाई त होटल क्वारेन्टाइन पठाउनु पर्यो । एक जनाले पैसा तिर्न सक्दिन भनेकोले आज एन्फा नै लैजान्छौं ।’

समुदायबाट सहयोग पाएनौं: उपमेयर भण्डारी

धरानमा क्वारेन्टाइन विस्तार गर्न प्रयास नभएको भने होइन । तर, जुन ठाउँमा क्वारेन्टाइन बनाउन उपमहानगरपालिकाले पहल गरेको थियो, त्यहाँका स्थानीयबासी विरोधमा उत्रिए । जसले गर्दा उपमहानगरको प्रयास सफल हुन सकेन ।

उपमेयर मञ्जु भण्डारी सुवेदी समुदायलाई संक्रमणबाट जोगाउन क्वारेन्टाइन अतिआवश्यक भएपनि नगरबासीमा गलत बुझाईले समस्या भएको बताउँछिन् । क्वारेन्टाइनको व्यवस्था नहुने हो भने विदेशबाट आएका मानिस सिधै घरपरिवार वा समुदायमा पुग्छन्, जसले गर्दा संक्रमणको जोखिम उच्च हुन्छ । ‘हाम्रै धरानबासी, हाम्रौ नाता गोताहरु विदेशबाट आउदै हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि सुरक्षित बनाउन र हामी पनि सुरक्षित हुनलाई क्वारेन्टाइन चाहिएको हो,’उपमेयर भण्डारीले भनिन्,‘क्वारेन्टाइन हुदैमा संक्रमण फैलिन्छ भन्ने बुझाई भयो । त्यसले त समुदायलाई संक्रमणको जोखिमबाट जोगाउने पो हो त । समुदायले क्वारेन्टाइनको लागि सहयोग गर्न आवश्यक छ ।’

उपमहानगरपालिकाले धरान १६ मा क्वारेन्टाइन विस्तार गर्ने प्रयास गरेको थियो । त्यहाँ विरोध भएपछि धरान १५ स्थित नवज्योति स्कुलमा क्वारेन्टाइन बनाउन पहल गरेको थियो । तर, त्यहाँ पनि स्थानीयबाट विरोध भएपछि थप क्वारेन्टाइन विस्तारको योजना अघि बढ्न सकेको छैन ।

४२ जनाको रिपोर्ट नेगेटिभ

एन्फा क्वारेन्टाइनमा रहेका मध्ये शुक्रबार ४५ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । उनीहरुको स्वाब परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा पठाइएको थियो ।

ती मध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘बाँकी ३ जनाको पनि चाडै रिपोर्ट आउछ भन्ने जानकारी आएको छ । नेगेटिभ आएकालाई घर पठाउने तयारी हुदैछ,’उनले भने ।