धरान: सुनसरीको बराहक्षेत्र ८ शेरे चोकबाट दुई जनालाई प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र ७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान १७ का २२ बर्षीय विशाल भुजेल रहेका छन् । उनीहरुलाई मोटरसाईकलमा सवार रहेको अवस्थामा रोकेर चेकजाँच गर्दा लागुऔषध वरामद भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उनीहरुको साथबाट डाइलिल्याब ११ एम्पुल, एभिल ११ एम्पुल र लुप्रिजेसिक ११ एम्पुल लागुऔषध वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध र १ थान पल्सर मोटरसाईकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरि, झापाको कमल गाउँपपालिका ५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट पनि लागुऔषध खैरोहिरोईन(ब्राउनसुगर)सहित ३ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षिय अन्नत प्रसाद गणेश र कमल गाउँपपालिका-५ का २० बर्षिय दिपेश थापा रहेका छन् । उनीहरुलाई हिजो बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाईकलमा सवार गरी आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाएर राखेको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको प्रहरीको भनाई छ । उनीहरुको साथबाट नगद ६ हजार रुपैया, २ थान मोबाईल र दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।