धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु भर्ना भएका छन् भने कोरोनामुक्त भएर २७ जना डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आज डिस्चार्ज हुनेहरुमा २६ जना पुरुष र एक महिला छन् । डिस्चार्ज हुनेमा १८ महिनाको बालकदेखि ६० बर्ष उमेरका पुरुषसम्म रहेको पनि डा.सापकोटाले जानकारी दिए । डिस्चार्ज भएकाहरुमा झापाका ४ जना छन् भने मोरङका १८ जना र सुनसरीका ५ जना छन् ।
डिस्चार्ज भएकाहरु जेठ ३१, जेठ ३२, असार १ र २ गते भर्ना भएका थिए । सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा.सापकोटाले जानकारी दिए । वीपी प्रतिष्ठानमा अहिले ४४ जना पिसिआर पोजेटिभ आएका व्यक्तिहरु उपचारमा रहेका छन् भने हालसम्म १५५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।