सुनसरी: जिल्ला अदालत सुनसरीमा कार्यरत एक प्रहरी हवल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माका अनुसार हवल्दार ओमप्रसाद खतिवडाले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् । उनका अनुसार प्राथमिक उपचार पश्चात वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि पठाइएको खतिवडाको मृत्यु भएको छ । ‘अदालतको पछाडि ब्यारेक छ । छतमा गएर पेस्तोलले कञ्चटमा आफैले हानेछ,’डिएसपी शर्माले भने ।

घटना साँझ करिब साढे ७ बजेको हो । मृतक खतिवडाको घर मोरङको दुर्गापुरी हो । उनी जिल्ला न्यायाधिश शंकर राईको सुरक्षा गार्डकोरुपमा जिल्ला अदालतमा कार्यरत थिए । साथीहरुसँग गफ गरिरहेका खतिवडा केही समयमा छतमा चढेर पेस्तोलले आफैलाई गोली हानेका थिए ।