काठमाण्डौं: अहिले जारी रहेको खुकुलो लकडाउनलाई सरकारले साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।

सोमबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले साउन ७ गतेसम्म अहिलेको स्वरुपकै खुकुलो लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । सरकारले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राख्ने निर्णय गरेको छ । यो निर्णय अनुसार साउन ७ गतेसम्म लामो दुरीका सार्वजनिक यातायातहरु अझै सञ्चालनमा आउने छैनन् भने शैक्षिक संस्था, सिनेमा हल, जिम हल, ब्युटी पार्लर, सैलुनलगायत पनि बन्द नै रहनेछन् ।

यसअघि, गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको छैन भने शिक्षण संस्थाहरु खोल्न निषेध गरिएको छ । स्वास्थ्यसँग सम्वन्धित सबै सेवा, सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर असार १ गतेदेखि भने लकडाउन खुकुलो बनाइएको हो ।