धरान: नेपालमा कोरोना संक्रमण पुष्टि भएको कुल संख्या आज १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६ जना मध्ये १८ बर्ष मुनिका बालबालिकाहरुको संख्या पनि २ हजार नाघेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले १८ बर्ष मुनिका कोरोना संक्रमित बालबालिकाहरुको संख्या २०६१ जना पुगेको बताए । उनका अनुसार सुदुर पश्चिम प्रदेशमा मात्र ९ बर्ष मुनिका १७५ जना बालबालिकाहरुमा सक्रमण पुष्टि भएको छ । ती सबै आमाबुबासँगै भारतबाट फर्किएकाहरु रहेको पनि उनले बताए । डा. गौतमले केही बालबालिकाको मृत्यु पनि भएको उल्लेख गर्दै संक्रमणबाट बचाउन आमा बुबा र अन्य अभिभावकहरुको मुख्य जिम्मेवारी हुने पनि जोडदिए ।
‘आमा बुबा सचेत भै सकेसम्म घरमै राख्ने, संक्रमित हुन नदिन भिडभाडमा जान नदिने गर्नुपर्छ । बाहिर जानै परेमा अनिवार्य आफु र बालबालिकाले मास्क लगाउने, २ मिटर दुरी राख्ने, साबुन पानीले बेला बेला हात धुने गर्नुपर्छ,’मन्त्रालयका प्रवक्ता डा.गौतमले भने,‘आमाबुबलाई संक्रमण छ भने सर्न नदिन अलग्गै बस्ने गर्नुस् । अरुलाई कोरोना नसारोस भनेर सरकारले तोकेको स्थानमा वा घरभित्रै १४ दिन क्वारेन्टाइनमा बस्ने गर्नुस् ।’
अछाममा एकको मृत्यु, कुल संख्या ३०
मन्त्रालयले अछाममा ४५ बर्षीय एक संक्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार ती व्यक्तिको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी असार १३ गते श्वासप्रश्वास समस्या आएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।
उनी मधुमेहको विरामी पनि थिए । मृत्यु भएकै भोलीपल्ट स्वाब संकलन गरिएको र असार १६ गते संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । उपचारको क्रममा विरामीसँग कुरुवा रहेका २ जनाको पिसिआर नजिता भने नेगेटिभ आएको पनि उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युको संख्या ३० पुगेको छ ।