मोरङ: बिराटनगर महा-नगरपालिका १२ बखरीबाट भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा बढीको अबैध समानसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान ४ बजे एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा टेम्पो चालक बिराटनगर १५ का राजा पासवानसहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरी रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले भारतबाट नेपालतर्फ अबैधरुपमा भन्सार छली ल्याएको करिब ५ लाख ३० हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ता कपडा बरामद भएको जनाएको छ । बरामद भएको समान, पक्राउ परेका मानिस तथा सवारी साधनसमेत आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।