धरान: धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा आज एक तेस्रो लिंगीसहित ३६ जनाको स्वाब संकलन गरिएको छ ।
स्वब संकलन गरिएकाहरु मध्ये ३१ जना एन्फा क्वारेन्टाइनमा रहेकाहरु हुन् । तीन जना चतरास्थित होल्डिङ एरियाको सुरक्षामा खटिएका आर्मी हुन् भने २ जना आजै वीरगञ्जबाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लिंगी हुन् । उनीहरु स्वाबको नमुना दिएपछि होम क्वारेन्टाइनमा गएको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिइन् ।
स्वाब संकलन गरिएकाहरुमा ६ जना महिला छन् । पुरुषको संख्या २९ छन् भने एक जना तेस्रो लिंगी छन् । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । एन्फामा कुल ५६ जना मानिसहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन् । अरुको स्वाब यसअघि नै संकलन भएर रिपोर्ट आउने पखाईमा रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
पोजेटिभ २ जना निको भएर डिस्चार्ज
कुवेतबाट आएर एन्फा क्वारेन्टाइनमा बसेका २ महिलामा असार ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि वीपी प्रतिष्ठानको आइसोलेसनमा राखिएका उनीहरु निको भएर डिस्चार्ज भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘उहाँहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज हुनु भएको छ, दुवै जना घर गइसक्नु भयो,’मेहताले भने । एक जना धरान ७ निवासी हुन् भने अर्की महिला धरान १७ की हुन् ।