धरान: प्रदेश एकमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तेह्रथुम र सुनसरीमा भएको दुर्घटनमा ४ जनाले ज्यान गुमाएका हुन् । तेह्रथुमको आठराई गाउँपालिका ५ सुकेपोखरीको सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका ५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन् ।

उनीहरुको हिजो बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडाबाट सुकेपोखरी तर्फ जाने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो । ट्याक्टर एक्कासी १० मिटर तल खस्दा खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुको जिल्ला अस्पताल पांचथरमा उपचार भईरहेको छ ।

यस्तै, हिजो अपरान्ह साढे ४ बजे सुनसरी बर्जु गाउँपालिका २ स्थित बिराटनगर सितागंज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परले को २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटोमा सवार रहेका ५५ बर्षीय शिवु महत्तोको मृत्यु भएको छ । यसैगरी, ईटहरी ७ का २० बर्षीया स्वस्तिका चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो साझँ साढे ५ बजे ईटहरी १७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।