बिराटनगर: प्रहरी जवान १३७ औं समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिलासहित ८२१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५८७ जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जनालाई प्रशिक्षण दिइएको थियो । ती सबै प्रशिक्षार्थीहरु १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित भएका हुन् । २०७६ साउन २० गतेदेखी प्रहरी जवान १३७ औं समुहको तालिम सञ्चालन भएको थियो । दुई सय ३४ कार्यदिनको आधारभूत तालिमको दिक्षान्त समारोह १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका समादेशक टेक बहादुर तामाङले सफथ ग्रहण गराएका थिए। समारोहका प्रमुख अतिथी एवं डिआइजी कार्कीले कोभिड १९ को कारण उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक, संचारकर्मी तथा अन्यलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख व्यक्त गरे । नेपाल प्रहरी मार्फत राष्ट्रको सेवा गर्न प्रहरी संगठन रोजेकोमा दिक्षित प्रहरीका परिवारजनमा उनले आभार प्रकट गरेका थिए । साथै उनले कार्यक्षेत्रमा निष्ठापुर्वक, ईमान्दार र बफादार भई जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई निर्देशन पनि दिए ।
सोही समारोहमा डिआइजी कार्कीले तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारीका २०७७ को बिमोचन समेत गरेका थिए । तालिम अवधीमा चरणगत परिक्षाको प्राप्ताङको आधारमा प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान बिजय सिंह कार्कीलगायत विभिन्न १० बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिमका प्रशिक्षकहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत पनि प्रदान गरिएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक तामाङले धन्यवाद ज्ञापन गर्दै दिक्षित प्रहरी जवानहरुले सिकेका ज्ञानलाई आफ्नो कार्य क्षेत्रमा पालना गरे अपराध अनुसन्धानमा टेवा पुग्ने बताए ।