धरान: धरान १२ कोशी राजमार्गस्थित एक भवनमा सञ्चालनमा रहेको नेपाल एसबिआई बैंकले केहीबेर अघि जेनेरेटर चलाउन खोज्दा निक्कै तनाव खेप्नुपर्यो ।
स्टार्ट भएको जेनेरेटर बन्द गर्न नसक्दा बैंकलाई मात्र होइन, आसपासमा पनि त्रासको अवस्था सृर्जना भएको थियो । स्थानीयबासी एवं धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बिनिता ब्रजचार्यका अनुसार बैंकले जेनेरेटर चलाउन स्टार्ट गर्नेबित्तिकै धुँवाको मुस्लो निस्केको थियो । त्यसपछि, बैंकले जेनेरेटर बन्द गर्न सकेन । त्यसले गर्दा जेनेरेटर तात्तिएर पड्केला र आगलागी होला कि भन्ने त्रास फैलिएको थियो । ‘धन्न केही नराम्रो घटना भएन, अहिले अवस्था सामान्य छ । क्षति केही पनि भएन,’बज्रचार्यले भनिन् ।
जेनेरेटर बन्द नभएर धुँवाको मुस्लो निस्किएपछि दमकल बोलाइएको थियो । केहीबेरको प्रयासमा जेनेरेटर बन्द भएको र खतरा टरेको बज्रचार्यले बताइन् । ‘मेरो घर नजिकै छ, कालो धुँवा आएर के भएछ भनेर हेर्न गएको थिएँ, स्टाफले जेनेरेटर बन्द नै भएन भने,’उनले भनिन्,‘दमकल बोलाएका थियौं । जेनेरेटर सेलाउनलाई पछि थोरै पानी हालियो ।’ बैंकको कार्यालय भएको ठाउँ धरानको मुख्य बजार क्षेत्र हो । बैंकको कार्यालय भएकै भवनमा र आसपासमा पनि थुप्रै व्यवसाय सञ्चालनमा रहेको थियो ।