संखुवासभा: संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दामा अबिरल बर्षाको कारण पहिरो जाँदा वेपत्ता ११ जनाको उद्दारमा खटिएका एकको मृत्यु भएको छ ।

उद्दारमा खटिएकामध्ये स्थानीय २५ बर्षीय मदन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका राई एक्कासी बेहोस भएका थिए । उनको बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका थिए । पहिरोको घटना आज बिहानको राती २ बजे भएको हो । घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएका छन् । हालसम्म ५ जनालाइ उद्दार गरेर उपचार भइरहेको प्रहीले जनाएको छ ।

प्रहरीका अनुसार ७९ बर्षीय गोवा सिंह, उनकी श्रीमति ६० बर्षीय फुलमाया राई, छोरी १४ बर्षीय भीमसरी राईको जिवित उद्दार भएको छ । गोवासिंहको बाँया हात र टाउकोमा ढुंगाले गहिरो गरि काटोको छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । श्रीमति र छोरीको अवस्था सामान्य रहेको छ । यसैगरि, जुद्धबहादुर राई(गैरी) गोठमा गएको कारण जिवितै रहेको भेटिएको छ भने ५५ बर्षीय भिमबहादुर राईलाई पनि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६० बर्षीय राममान राई, श्रीमति ५५ बर्षीय हस्तकुमारी राई, छोरीहरु २१ बर्षीय एञ्जिला राई(गर्भवती) र ११ बर्षकी नम्रता राई हालसम्म वेपत्ता छिन् । यसैगरि, जुद्धबहादुर राई(गैरी) गोठमा जादा जिवित रहे पनि उनकी श्रीमति ६५ बर्षीय गोरीमाया राई र छोरी २२ बर्षीय प्रकृति राई पनि वेपत्ता छिन् । यसैगरि, ५२ बर्षीय जुद्धबहादुर राई(माने), उनकी श्रीमति ४५ बर्षीय उत्तरकुमारी राई पनि वेपत्ता छन् भने ७० बर्षीय नजमारा राई, ८४ बर्षीय हर्कराज राई र उनकी श्रीमति ८२ बर्षीय आइतमाया राई हालसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्दीप राईको घर पुरै बगाए पनि परिवार सम्पर्कमा आएका छन् भने सुभधन राईको घर पनि पुरै बगाएको र परिवार सम्पर्कमा रहेको छ ।