विराटनगर: विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई उद्दार गरिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्दार गरिएको हो । विराटनगर महेन्द्रचौक देखि एयरपोर्ट सम्म हिँडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्दार गरिएको हो । स्थानीयका अनुसार उद्धार गरिएका व्यक्ति करिव १० वर्षदेखि सडक आश्रित छन् ।
उनको सडकबाट उद्दार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले मानवहरुको उद्दार गरि सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताए । उनले भने,‘सडकमा सहयोगापेक्षी, सडकआश्रित मानवहरु देखिने छैनन ।’ पहिलेको तुलनामा वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरु सडकमा कम हुँदै गएको मन्त्री घिमिरेले बताए ।
सडकबाट उद्धार गरिएकाहरुको औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरुको उद्दार गरिसकेको जनाएको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए । प्रदेश १ सरकारले सडक आश्रित एवं बेसहरा मानव सेवा ग्राम निर्माणको पनि तयारी शुरु गरेको छ । मोरंगको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जनाएको छ ।