धरान: विदेशबाट आएर धरानको विभिन्न क्वारेन्टाइनमा रहेका ७० जनाको आज पिसिआर परीक्षणको लागि स्वाबको नमुना संकलन गरिएको छ ।
धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा आज स्वाबको नमुना संकलन गरिएको हो । ती मध्ये पुरुष ५३ जना र महिला १७ जना रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार स्वाब संकलन गरेर परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा पठाइएको छ । ‘आज ७० जनाको स्वाबको नमुना लिएर परीक्षणको लागि वीपीमा पठाइएको छ,’मेहताले भने ।
स्वाब संकलन गरिएकाहरु एन्फा क्वारेन्टाइन, होटल र होम क्वारेन्टाइनमा रहेकाहरु पनि छन् । एक्फा क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मी डुका घिसिङका अनुसार ७० जना मध्ये एन्फा क्वारेन्टाइनमा रहेका ४१ जना छन् भने १४ जना होटल क्वारेन्टाइनमा रहेकाहरु हुन् । यस्तै होम क्वारेन्टाइनमा रहेका १२ जनाको पनि स्वाब संकलन गरिएको छ । साथै, २ जना एन्फा क्वारेन्टाइनको सुरक्षामा खटिएका नेपाली सेना र एक जना क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मीको पनि स्वाबको नमुना संकलन गरिएको घिसिङले जानकारी दिइन् । क्वारेन्टाइनमा रहेकाहरु भारत, दुबई, कोरिया, अष्ट्रेलियालगायत मुलुकबाट आएकाहरु छन् । ती मध्ये केही भारतीय आर्मीहरु पनि रहेका छन् ।