धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा मृत्यु भएका व्यक्ति मुटु र उच्च रक्तचापको विरामी भएको चिकित्सकले बताएका छन् ।

मृतक ७३ बर्षीय व्यक्ति सप्तरीको राजविराज नगरपालिकाका हुन् । उनी २ दिनअघि(असार ३१) गते प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराउन आएका थिए । चिकित्सकहरुलाई शंका लागेपछि उनलाई इ एरियामा राखिएको थियो । ‘त्यसपछि पिसिआर गरिएको थियो । हिजो रिपोर्ट पोजेटिभ आएपछि साँझ ६ बजेतिर आइसोलेसनमा लगिएको थियो,’प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने,‘राती त उहाँको मृत्यु भइहाल्यो ।’ आकस्मिक कक्षमा यस्तै विरामी आउन सक्छन् भनेर सावधानी अपनाइएको डा.सापकोटाले बताए ।