धरान: धरानको विभिन्न सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वन समुहको आवास गृह राखिएका सडक आश्रित मानिसहरुलाई इटहरीको माया घर नेपालले जिम्मा लिएको छ ।

ती सडक आश्रित मानिसहरुलाई धरान उपमहानगरपालिकाले व्यवस्थापनको लागि माया घरलाई जिम्मा दिएको हो । माया घर नेपालले साउन १ गतेदेखि सडक आश्रित मानवहरुको जिम्मा लिएको हो । यसबारेमा उपमहानगरपालिका र माया घरबीच सम्झौतासमेत भएको सडक मानव व्यवस्थापन समितिकी सदस्य तथा महिला सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् ।

धरान उपमहानगरपालिकाले बैशाख १ गतेदेखि सडक आश्रित मानिसहरुलाई सडकबाट उद्दार गरे लांघाली आवास गृहमा राखेको थियो । कोरोना महामारीको कारण सरकारले लकडाउन गरे पनि सडक आश्रित मानिसहरु सडकमा निर्वाध आवतजावत गरिरहेको पाइए पछि संक्रमण हुनबाट जोगाउन उपमहानगरले लांघाली वनको आवास गृहमा राखेको थियो । कोरोना महामारीको बेलामा सडक मानवहरुलाई व्यवस्थितरुपमा राख्ने धरान पहिलो स्थानीय तह भएको जानकारहरु बताउँछन् ।

langhali-film1

सकड मानवहरु जिम्मा लिनेबारे भएको सम्झौता पत्र धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको उपस्थितिमा माया घर नेपालकी अध्यक्ष राधिका दासी र सामाजिक विकास प्रमुख प्रज्ञा निरौलाबीच हस्ताक्षर भएको थियो । हाल लांघाली आवास गृहमा ८१ जना सडक आश्रित मानिसहरु रहेका छन् ।
माया घरले जिम्मा लिए पनि धरान उपमहानगरपालिकाले अभिभावकत्व लिदै आगामी ४ महिनासम्म केही बजेट दिने भएको छ । तर, व्यवस्थापन, रेखदेख, स्याहार, स्वास्थ्य, खानपिनलगायतको सम्पुर्ण जिम्मेवारी भने माया घरले गर्नुपर्नेछ । यसअघि सबै जिम्मेवारी धरान उपमहानगरपालिकाको रहेको थियो ।

langhali11

माया घरले जिम्मा लिएका मानिसहरुलाई आगामी कार्तिक महिनासम्म लांघाली वन समुहको आवास गहृमा नै राखेर सेवा दिने माया घर नेपालकी अध्यक्ष राधिका दासीले जानकारी दिइन् । 'इटहरीमा भएको हाम्रो भवनमा थप कोठाहरु व्यवस्थापन गर्ने काम भइरहेको छ, पुरा भएपछि लैजान्छौं,' उनले भनिन्,'त्यसअवधिसम्म यहाँका मानिसहरुलाई मनोपरामर्श, सिपमुलक तालिम, योगा, ध्यान गराउछौं, र परिवार भएकाहरुलाई पुर्नस्थापना पनि गराउछौं ।'

माया घरले लांघाली आवास गृहमा राखुञ्जेल सहयोग गर्न स्थानीय सहयोगी दाता एवं संघसंस्थाहरुलाई आग्रह समेत गरेको छ । माया घरको आग्रह पछि सडक मावनहरुको व्यवस्थापनमा महिला सञ्जाल धरान र सफेद चरण नामक संस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको माया घरकी सचिव शुभद्रा प्याकुरलले जानकारी दिइन् ।