विराटनगर: मोरङको बिराटनगरबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय पनि छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भारत अररिया जोगवनीका १९ बर्षीय तारिकन अनवरसहित बिराटनगर ६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हिजो साँझ साढे ६ बजे साईकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर १५ बाट ३५ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।

यसैगरी बिराटनगर १६ स्थितमा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट ट्याब्लेटसहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रकृया अगाडी बढाइएको छ ।