धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा उपचाररत एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको आइसियुमा उपचाररत विरामी(पुरुष)मा संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका  अनुसार जनकपुरका वृद्ध व्यक्तिमा पोजेटिभ देखिएको हो । उनी उच्च ज्वरो र खोकीको समस्या लिएर प्रतिष्ठान आएका थिए । पोजेटिभ देखिएपछि ती विरामीलाई आइसोलेसनमा स्थानान्तरण गरिएको छ । ‘आइसोलेसनमा पनि भेन्टिलेटरसहितको व्यवस्था छ, त्यहाँ सिफ्ट भइसक्यो,’डा.सापकोटाले भने ।

डा.सापकोटाका अनुसार आइसियुमा भए पनि ती व्यक्ति शंकास्पद भएकोले सावधानी अपनाएर उपचार प्रबन्ध गरिएको थियो । त्यसैले चिन्ता लिनुपर्ने अवस्था थिएन । ‘शंका लागेर पहिला नै सावधानी अपनाएर नै आइसियुमा पनि राखिएको थियो,’उनले भने । आज नै प्रतिष्ठानमै एक विद्यार्थीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । एमबिबिएसको प्राक्टिकल परीक्षा दिन भारतबाट आएर होस्टलमा क्वारेन्टाइनमा रहेकी एक छात्रामा संक्रमण पुष्टि भएपछि उनलाई पनि आइसोलेसनमा स्थानान्तरण गरिएको छ ।