धरान: साउन ४ गतेदेखि नेवार जातिले मनाउने गरेको विभिन्न चाडपर्व तथा जात्राहरु शुरु भएको छ, तर विश्वव्यापी बनेको कोरोना महामारीको कारण धरानमा ती जात्रा तथा चाडपर्वहरु भिडभाड नगरी घरपरिवारमा सिमित रहेर मात्र मनाइने भएको छ ।

कोरोना संक्रमणलाई ध्यानमा राखेर नेवाः समुदायसँग आवद्ध संघसंस्था र सरोकारवालाहरुबीच बैठक बसेर यस्तो निर्णय गरिएको हो । नेवाः देय दबुका धरान उपमहानगर अध्यक्ष मनोहर शाक्यका अनुसार यसपाली चाडपर्व तथा जात्राहरु औपचारिकरुपमा नमनाउने तथा जात्राहरु ननिकाल्ने निर्णय भएको छ । ‘नेवार जातिको चाडपर्वहरु शुरु भइसकेको छ । यसपाली कोभिड १९ को संक्रमण जोखिम भएकोले संघसंस्थाहरुको बैठक बसेर जात्राहरु ननिकाल्ने, औपचारिकरुपमा भव्य नमनाउने निर्णय भएको छ,’अध्यक्ष शाक्यले भने ।

यो बर्षको चर्तुदशी(साउन ४ गते) गथामुगः पर्वबाट नेवार समुदायको पर्व तथा जात्राहरु शुरु भइसकेको छ । नाग पञ्चमीदेखि लाखे शुरु हुन्छ भने गुँला पर्व, यँला पर्व, गाइजात्रालगायत महत्वपुर्ण पर्व तथा जात्राहरु पनि आइरहेका छन् । ‘केन्द्रीय समितिले पनि औपचारिक कार्यक्रमहरु नगर्नु, जात्राहरु ननिकाल्नु भनेको छ,’अध्यक्ष शाक्यले बैठकको निर्णयबारे भने,‘सम्भव भए न्युनीकरण विधि पुर्याउने, अत्यावश्यक पुजापाठ, क्षमा पुजा गर्ने भन्ने छ ।’

बिषेश सर्तकता अपनाएर भिडभाड नगरी, सामाजिक दुरी कायम गर्दै अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा प्रयोग गर्ने पनि निर्णय गरिएको छ । बर्षदिनभित्र आफ्नो परिवारका सदस्यको मृत्यु भएमा उनको स्मृतिमा निकालिने गाईजात्रा धरानमा पनि भव्य मनाइन्छ भने लाखे पनि विभिन्न संघसंस्थाहरुले निकाल्ने गरेका छन् । अध्यक्ष शाक्यका अनुसार सिंहदेवी मन्दिरमा लाखेको मुखुण्डो, बाद्यवादनहरु लगेर नाटेश्वरसँग क्षमा पुजा गरिनेछ ।jatra