धरान: आदिवासी सांस्कृतिक अधिकार संरक्षण समितिले नेपाल आदिवासी जनजाति महासंघ बराहक्षेत्र नगर समन्वय समितिका अध्यक्ष सन्तकुमार राईलाई नगदसहित सम्मान गरेको छ ।
सांस्कृतिक अधिकारका लागि योगदान गरेको भन्दै समितिले उनलाई शिरमा फेटा गुथेर सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राम माण्डुपाले राईलाई सम्मानपत्र सहित ५ हजार प्रदान गरेका थिए । प्रमुख अतिथि माण्डुपाले नेपाल धर्म निरपेक्ष मुलुक भएतापनि संविधानसँग बाझिने ऐन, कानुनहरु बनाएर सरकारले आदिबासी जनजाती समुदायको साँस्कृतिक अधिकारमा धावा बोल्दै आएको बताए । नेपालमा आदिवासी जनजातिहरुको संस्कारमा गोरुको मासु अत्यावश्यक भए पनि निरकुंश शासनले कानुनी रुपमा प्रतिवन्ध लगाएको उनले बताए ।
कार्यक्रममा गोरुको मासुबाट मानव स्वास्थ्यमा हुने लाभ र हानीको बारेमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका उपप्रध्यापक अर्जुन घिमिरेले जानकारी दिएका थिए । कार्यक्रमको उद्घाटन कठुवाको तीनपाने रक्सि र गोरुको भुटन खाएर प्रमुख अतिथिले गरेका थिए । अन्य अतिथिलाई पनि कार्यक्रमका अध्यक्ष सुवास हुक्पा चोङबाङले भुटन र तीनपाने खुवाएका थिए । सम्मान कार्यक्रममा नेकपा धरानका अध्यक्ष नारायण सुवेदी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बु, नेपाली कांग्रेसका नेता महेन्द्र तामाङ, किरात राई यायोक्खा सुनसरी सचिव राजेन्द्र राई, मगर संघ नगर अध्यक्ष चित्र मगर लगायत विभिन्न राजनितिक दल तथा विभिन्न समुदायका जातीय संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।