धरान: वीपी कोइरालाको ३८ औँ स्मृति दिवसअवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ ।
प्रमुख अतिथि एवं संघीय सांसद सीताराम मेहता, विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरेका हुन् । आँप, लिची, रुद्राक्ष, वेल, कपुर लगायतको जातका विरुवा रोपिएको हो । वृक्षारोपण अघि भएको कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद मेहताले इटहरी उपमहानगरले स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम राखेकोमा धन्यवाद ज्ञापन गरे । उनले वीपी कोइराला एउटा पार्टीको मात्र नभई देशकै नेता भएको वताए ।
मेयर चौधरीले देशका लागि योगदान दिएका नेताहरुको स्मृतीमा उपमहानगरले वृक्षारोपण कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले देश र समाजका लागि योगदान दिएका ब्यक्तित्वहरुको नाममा स्मृति भवन र स्मारक वनाउन उपमहानगरले वजेट विनियोजन गरेको जानकारी दिए । कार्यक्रममा नेकपा इटहरी अध्यक्ष वहादुर सिंह तामांग र काँग्रेस नगरसचिव प्रकाश वस्नेतले वीपी कोइरालाको योगदानको चर्चा गरे ।
वडाध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य अन्जु चौधरीले स्वागत गरे । इटहरी उपमहानगरले भोली पुष्पलाल स्मृति दिवसका अवसरमा विहान सात वजे इटहरी १४ नरभाषामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । उपमहानगरले यो वर्ष १ लाख विरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।