धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार साँझ एक जना कोरोना संक्रमित विरामीको निधन भएको छ ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेका महोत्तरी जिल्लाका ६० बर्षीय वृद्धको साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा आउदा नै सिकिस्त अवस्थामा रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो । उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि हिजो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो । ‘उहाँ वीपीमा उपचारमा आउदा नै निक्कै सिरियस हुनुहुन्थ्यो, त्यसैले आइसियुमा राखेर उपचार भएको थियो,’प्रवक्ता डा.सापकोटाले भने,‘पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेका थियौं, आज साँझ निधन भयो ।’
प्रवक्ता डा.सापकोटाका अनुसार साँझ नै मृतकको शवलाई पठाउने व्यवस्था गरिएको थियो । सोही अनुसार नै मृतकको शवलाई व्यवस्थापन गरिएको पनि डा.सापकोटाले बताए । ‘आमीसगँ समन्वय गरेर शव व्यवस्थापन गर्ने भन्ने थियो,’उनले भने । यसअघि पनि सप्तरीको राजविराज निवासी एक वृद्धको पनि वीपीमा उपचारको क्रममा निधन भएको थियो । योसँगै वीपी प्रतिष्ठानमा उपचाररत संक्रमित व्यक्तिको मृत्यु भएको संख्या २ पुगेको छ । दुवै जना प्रदेश २ का हुन् ।