धरान: पाँच दिनअघि सुनसरीको सिमानामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ ।
हरिनगरा गाउँपालिका ७ घुस्कीस्थित दशगजा नजिक साउन २ गते राती सशस्त्रसँगको झडपमा गोली लागेर स्थानीय २१ बर्षीय साहवाज मियाँ घाइते भएका थिए । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको हो । उनको आइसियुमा उपचार भइरहेको थियो ।
तस्करीमा संलग्न रहेका मियाँलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि नै आक्रमण भएको थियो । प्रहरीका अनुसार तस्करीमा संलग्न युवाहरुले ढुंगामुढा र बाँसको लाठीले आक्रमण गरेपछि एक जना सशस्त्र प्रहरी पनि गम्भीर घाइते भएका थिए । सशस्त्रको हतियार खोस्ने प्रयास भएपछि जवानले तर्साउनको लागि कक गरेका थिए ।त्यसो गर्दा पनि हतियार खोस्ने प्रयास जारी रहदा झड्काउदा गोली चलेर मियाँको पेटमा लागेको थियो ।
मृतक परिवारले क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग राखेका छन् । स्थानीय म.जयाउद्दिनले निर्दोष व्यक्ति मारिएको बताए । मृतकलाई क्षतिपूति र सहिद घोषणा गर्नुपर्ने माग राखिएको उनले बताए । हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जिल्ला प्रशासन कार्यालयसँग मृतकलाई क्षतिपूति दिने र घटनाको सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गर्ने सहमति भएको जानकारी दिए । ‘सिडिओसँग सहमति भइसकेको छ । सरकारले उपलब्ध गराउने १० लाख क्षतिपूर्ति दिलाउन पहल गर्ने र घटनाको सत्यतथ्य के हो ? उचित छानबिन गर्ने सहमति भएको छ,’उनले भने,‘गाउँपालिकाले पनि सहयोग गर्नेछ, त्यसको लागि हामी चाडै निर्णय गछौं ।’