धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिमा नियुक्त भएका प्रा.डा.ज्ञानेन्द्र गिरीले कार्यभार सम्हालेको १०० दिन पुरा भएको छ ।

लकडाउनकै बीचमा गत बर्ष २०७६ चैत २८ गते उनी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए । बिहिबार नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा.गिरीले आफु पनि नियुक्ती भएको सय दिन पुरा भएको जानकारी दिए । साथै उनले प्रतिष्ठानलाई अब पुर्ण विश्वविद्यालय बनाउने पनि बताए ।

प्रतिष्ठानलाई पुर्णरुपको विश्वविद्यालय एक बर्षभित्र स्थापित गर्न कार्ययोजना अघि बढाएको र गृहकार्य भइरहेको पनि उनले खुलाए । ‘प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयको रुपमा परिवर्तन गरी उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रुपमा पहिचान दिलाउन हामी प्रयत्नरत छौँ,’उनले भने,‘यस प्रतिष्ठानलाई मुलुककै मात्र नभई विश्वकै नमुना उच्च स्वास्थ्य शिक्षा र सेवाको केन्द्रका रुपमा विकास गर्न आवश्यक साधन, स्रोत सम्पन्न बनाउन विभिन्न पहलहरु भई राखेका छन् ।’

नेपालको उच्च शिक्षा सम्बन्धी नीति अनुरुप प्रतिष्ठानको परीक्षा प्रणालीमा सुधार, गुणस्तर निर्धारण संयन्त्रको विकास, अनुगमन तथा मुल्यांकन प्रणालीको सुदृढिकरण पनि गर्ने डा.गिरीले बताए । उच्च शिक्षाका विभिन्न तहका पाठ्यक्रमहरुलाई गुणस्तरीय, प्रतिष्पर्धी एवं जीवनपयोगी बनाउन प्रतिष्ठानले प्राथमिकता दिएको पनि उनले बताए । ‘यी सबै कार्यहरुले हाम्रो जनशक्ति विश्व बजारमा विक्न सक्छ र हामी अहिलेको भूमण्डलीकरणको युगमा अन्तराष्ट्रिय प्रतिष्पर्धामा खरो रुपमा उत्रन सक्छौं भन्ने विश्वास लिएको छु,’उनले भने ।

उपकुलपति डा.गिरीले जनशक्तिको विकासको लागि जनशक्ति विकास कार्यक्रम अघि बढाउने बताए । साथै उनले प्रतिष्ठानको प्रतिष्ठा बृद्धिको लागि विदेशी विश्वविद्यालयहरुसँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिने बताए । ‘संकायगत प्राज्ञिक अनुसन्धानात्मक जर्नलहरूको प्रकाशन सँगसँगै लैजानुपर्छ भन्ने सोच छ,’उनले भने,‘विद्यार्थीहरुका लागि खेलकुद तथारचनात्मक क्रियाकलापहरुको संचालन र अन्य प्राज्ञिक प्रवर्दनात्मक कार्यक्रमहरु अघि बढाउनुपर्छ भन्ने सोच छ ।’

उनले निर्माणाधीन मातृशिशु भवनको काम एक महिनादेखि शुरु भइसकेको पनि जानकारी दिए । यस्तै, असार ३० गते सिनेट बैठक हुने र त्यसपछि कार्डियोलोजी र क्यान्सर सेन्टरको काम पनि अघि बढ्ने बताए । ती योजनाहरुको निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने, ट्रमा सेन्टर, अंग प्रत्यारोपण केन्द्रको स्थापना, औषधि उद्योगको स्थापना, विभिन्न शैक्षिक विभागहरुको स्थापना गर्ने लक्ष्य रहेको उनले बताए ।

भिडियो :