धरान: एक जना कोरोना सक्रमित प्रहरी सुनसरी सदरमुकाम इनरुवाको बजार क्षेत्रमा हिडडुल गर्नुका साथै धेरै मानिसहरुसँग सम्पर्कमा रहेको पुष्टि भएपछि प्रशासनले बजार, पसल बन्द गराएको छ ।
जिल्ला प्रशासन कार्यालयल सुनसरी र इनरुवाका जनप्रतिनिधिहरुको बैठकले संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पछि पिसिआर जाँच गर्ने र त्यसको रिपोर्ट नआएसम्म बजार, पसल, कार्यालयहरुसमेत पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको हो । इनरुवा नगरपालिकाका मेयर राजन मेहताका अनुसार अहिले प्रहरी र नगर प्रहरी मिलेर बजार, पसल, कार्यालयहरु अर्को सुचना नभएसम्मलाई बन्द गराउन माइकिङ भइरहेको छ । ‘हामी सबै थोक नै बन्द गराउछौं । बजार, पसल, कार्यालय, बैंक सबै नै बन्द हुन्छ,’मेयर मेहताले भने,‘भोली पिसिआर टेष्ट गछौं, र त्यसको रिपोर्ट नआएसम्म हिडडुल गर्न पनि बन्द गराउछौं ।’
हिजो विराटनगरमा संक्रमित पुष्टि भएका एक प्रहरी इनरुवा घर भएको खुलेको थियो । उनी इनरुवाबाट नै विराटनगर काममा आउजाउ गर्ने गरेका थिए । त्यसक्रममा उनी इनरुवामा धेरै ठाउँ पुगेको र भेटघाट गरेको खुलेपछि प्रशासन र स्थानीय तह मिलेर इनरुवा पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । मेयर मेहताका अनुसार संक्रमित प्रहरीको परिवारका १२ जना, विभिन्न बजार तथा पसलहरुमा क्लोज कन्ट्याकमा रहेकासहित अहिलेसम्म ६० जना जतिको पिसिआर टेष्ट गर्नुपर्ने खुलेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले भने निषेधाज्ञा नै नभने पनि बजार, पसल पुर्णरुपमा बन्द गर्ने निर्णय भएको बताए । ‘संक्रमण फैलिन नदिने यस्तो निर्णय भएको हो । संक्रमित व्यक्ति धेरै ठाउँमा गएको, भेटघाट गरेको पाइएकोले सम्भावित ठाउँहरु खोजी गर्दैछौं,’सिडिओ पोखरेलले भने,‘भोलीसम्म के कतिको पिसिआर गर्ने भन्ने खुल्छ ।’