धरान: ईलाका प्रहरी कार्यालय इटहरीमा एक रात थुनामा राखिएको व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
राजश्व छली मुद्दाका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय इटहरीमा एक रात मात्र थुनामा राखिएको थियो । ती व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर साउन ४ गते एक रात थुनामा राख्नको लागि इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको थियो । भोलीपल्ट बिहानै थुनाबाट ती व्यक्तिलाई लिएर गएको र अहिले कोरोना पोजेटिभ पुष्टि भएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । ‘हामीले नियन्त्रण लिएको होइन, राजश्व कार्यालयको थुनुवा हो, यहाँ एक रात मात्र राखिएको थियो,’डिएसपी भण्डारीले भने,‘साउन ४ गते एक रात राखेर भोलीपल्ट बिहानै यहाँबाट लगेको हो, अहिले पोजेटिभ भयो रे ।’
थुनुवालाई पोजेटिभ भएको जानकारी आएपछि अहिले इलाका प्रहरी कार्यालयमा उच्च सावधानी अपनाइएको छ भने उनीसँगै बसेका थुनुवा र सुरक्षामा खटिएका प्रहरीहरुको पनि पिसिआर जाँचको तयारी गरिएको छ । ‘थुनुवा ८ जना छन्, सबैलाई आइसोलेट गरेर राखिएको छ,’डिएसपी भण्डारीले भने,‘प्रहरी पनि ५ जना छन्, सबैलाई पिसिआर टेष्ट गछौं ।’