धरान: सुनसरी सदरमुकाम इनरुवामा आज पनि लकडाउन कायमै रहेको छ ।

इनरुवा घर भएका एक प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि हिजो दिउँसोदेखि प्रशासन र स्थानीय तहले इनरुवाको बजार क्षेत्रमा पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको थियो । विराटनगरमा कार्यरत प्रहरी घरबाट नै डिउटी जाने गरेको र बजार क्षेत्रमा धेरै घुमफिर, भेटघाट गरेको खुलेपछि लडकाउन गरिएको हो । इनरुवाका मेयर राजन मेहताका अनुसार आज संक्रमित प्रहरीको परिवारसहित ४१ जनाको स्वाबको नमुना संकलन गरिएको छ । पिसिआर परीक्षणको रिपोर्ट नआएसम्म लकडाउन जारी रहने मेयर मेहताले बताए । ‘आज ४१ जनाको स्वाब लिइएको छ, यसको रिपोर्ट कस्तो आउछ, त्यसपछि मात्र लकडाउनबारे थप निर्णय हुन्छ,’मेयर मेहताले भने ।

शनिबार संक्रमितको परिवारका १२ जनाको स्वाब लिइएको छ । यस्तै, उनी किनमेल गर्न गएको पसल, भेटघाट गर्न गएको स्थान तथा नजिक सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरेर कुल ४१ जनाको स्वाब लिइएको हो । संक्रमित गएको चिया पसलमा संघीय सांसद सीताराम मेहता पनि गएको पाइए पछि सांसद मेहताको पनि शनिबार स्वाब संकलन गरिएको छ । थप मानिसहरुमा संक्रमण फैलन नदिन लकडाउन प्रशासनले लकडाउन गरेकोले पुर्णरुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणहरुलाई आह्वान गरेको छ ।