धरान: सफेद चरण नामको संस्थाले धरान-५ की एक बर्षीय नाबालिकाको आँखाको उपचार गराउने भएको छ ।
धरान ५ खैरेनीका एक बर्षीय सदिक्षा बस्यालको आँखाको शल्यक्रिया गर्नुपर्नेछ । उनको चेकजाँचदेखि शल्यक्रियासम्मको सम्पुर्ण खर्च सफेद चरणले व्यहोर्ने उपाध्यक्ष डेबिड थेगिम सुब्बाले जानकारी दिए । सदिक्षालाई उनका अभिभावकहरुले आँखाको उपचारको लागि मेची आँखा अस्पताल झापा लगेका छन् । अस्पतालमा आज चेकजाँच भएको र भोली शल्यक्रिया हुनसक्ने उपाध्यक्ष सुब्बाले बताए । 'हामी मेची आँखा अस्पतालमा आएका छौं, आज चेकजाच भएको छ, र सम्भवतः भोली शल्यक्रिया हुन्छ,'उनले भने,'सदिक्षाको सम्पुर्ण खर्च संस्थाले व्यहोर्नेछ ।'
संस्थाको डाइरेक्टर माइकल राजवंशीका अनुसार सदिक्षा जन्मदै आँखाको दृष्टिविहिन थिइन् । उनलाई उपचार पश्चात केही मात्रामा ज्योति फर्कने चिकित्सकहरुले बताएको पनि डाइरेक्टर राजवंशीले जानकारी दिए । 'डाक्टरले शल्यक्रियापछि केही मात्रामा आँखा देख्न सक्छिन भनेको हुनाले उपचारको लागि ल्याएका हौं,'उनले मोवाइल सम्पर्कमा भने ।