धरान: धरान १३ स्थित अमरहाटबाट विजयपुर निस्कने बाटोलाई आरसिसि ढलान गरिएको छ । डाँडामा बनेको बाटो तर घुमाउरो नभै ठाडो उकालो छ, त्यसैले यो बाटोमा सवारी लिएर यात्रा गर्न जोखिमपुर्ण पनि छ ।
आज बिहान एउटा ट्याक्टर बालुवा लिएर विजयपुरतिर जादै थियो । तर, उकालो चढ्न नसकेपछि चालक हाम्फालेर भागे, ट्याक्टर बाटोबाट भिरतिर खस्यो । धन्न, त्यहाँ कुनै घर वा अन्य संरचनाहरु थिएन । धनजनको क्षति हुनबाट जोगियो । यो बाटोमा एकापटि भिर छ भने अर्कोपटि भित्ता छ । त्यसैले गाडी उकालो चढ्न नसक्दा भिरपटि खस्छ । त्यता घरहरु भएकोले निक्कै जोखिम पनि छ । ‘अमरहाटबाट बालुवा लिएर ट्याक्टर जादै गर्दा तान्न सकेनछ, र एकापटि लडेको छ,’अमरहाट प्रहरी विटका इञ्चार्ज सुमन दाहालले भने ।
को १ त ६४५७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । चालक दिपक सुन्दस सकुशल छन् भने सहचालक सञ्जय राई सामान्य घाइते भएका छन् । दुर्घटना पछि चालक आफै प्रहरीको सम्पर्कमा पुगेका थिए । यो बाटोमा उकालो चढ्न नसकेर गाडी दुर्घटना भएको पहिलो पटक भने होइन । अहिलेसम्म ८,९ पटक गाडी दुर्घटना भइसकेको अमरहाट सेवा समाजका सचिव गोपाल श्रेष्ठले बताए । ‘अहिलेसम्म यसरी नै ८,९ पटक दुर्घटना भइसकेको छ, कुनै दिन मानवीय क्षति हुनसक्ने भएकोले अमरहाटबासी हामी ज्यादै चिन्तित छांै,’उनले भने,‘ धेरै पटक घटना भइसकेकोले समाज र स्थानीयबासीकोतर्फबाट वडा नं १३ र १४ लाई बिशेष अनुरोध गर्दैछौं, कसरी हुन्छ यस्तो जोखिम निम्त्याउन दिनु भएन ।’