ओखलढुंगा: करिब ११, १२ बर्षका एक नाबालकविरुद्ध जर्बजस्ती करणीको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा छन् । उनी नाबालक भएपछि निरासहतमा नराखी नै जिल्ला प्रहरी कार्यालयले निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।

उनले ४ बर्षीय नाबालिकालाई बलात्कार गरेको आरोप छ । छिमेकी नाबालिकालाई बलात्कार गरेको उजुरी आएको प्रहरीले जनाएको छ । घटना असार ३१ गतेको हो । डिएसपी रुपेश खड्काका अनुसार आरोपित बालकले अरुले यौन कार्य गरेको देखेर आफुले पनि यस्तो गरेको वयान दिएका छन् । 'घटना पत्याउन नसकिने खालको छ, ११, १२ बर्षको उमेरका नाबालकले कसरी बलात्कार गर्ला ?,'डिएसपी खड्का भन्छन्,'तर अरुले गरेको देखेर आफुले पनि यस्तो गरेको वयान दिएको छ ।'

डिएसपी खड्का अभिभावक वा अरु जो कोहीले पनि कलिला बालबालिकाहरुले प्रत्यक्ष देख्ने गरी यौन गतिविधि गर्दा बालमानसिकतामा असर पर्ने गरेको उदाहरण यो घटनाबाट पुष्ति हुने बताउँछन् । बालबालिकाहरुले देख्ने गरि त्यस्तो गतिविधि गर्न हुदैन भन्ने पाठ यो घटनाले पनि सिकाउछ, उनले भने । बालकको जन्मदर्ता मगाएपछि सरकारी वकिल कार्यालयमा लगेर बयान गराएपछि अभिभावकको जिम्मा लगाउने प्रहरीको भनाई छ । कानुनीरुपमा १२ बर्षमाथिकालाई सुधार गृह पठाउनुपर्ने हुन्छ । स्रोतः अन्नपुर्णपोष्ट