इटहरीः लुुटपाट एवं डकैती गर्ने उद्देश्यले नै काठमाण्डौदेखि टाटा सुमो रिजर्भ गरेर पूर्व आएका ६ युवामध्ये ४ लाई इटहरी प्रहरीले पक्राउ गरेको छ।
गत साउन ९ गते धरानबाट इटहरी आउँदै गरेको बसमा सवार ५७ बर्षीय डम्बर प्रसाद वास्तोलाको साथमा ९७ हजार ६ सय लुटपाट भएपछि प्रहरीले लुटेराको खोजी तीव्र पारेको थियो । पक्राउ पर्नेमा काभ्रेका जीत बहादुर श्रेष्ठ, सनबहादुर लामा, युवराज लामा र कमल लामा रहेका छन् । उनीहरुका २ साथीहरु भने फरार रहेका छन् ।
यो समुहले ईटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलालाई लुटेर भागेका थिए । घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई पक्राउ गरेको थियो भने अन्य ३ जनालाई सोमवार दिउँसो तरहराबाट पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार ९ सय पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यो समुह चोरी गर्नकै लागी काठमाण्डौबाट साउन ८ गते पुर्व आएको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुुसन्धानले धरानको होटलमा डेरा लिएर बसेका उनीहरुले झापा, सुनसरी र मोरङका विभिन्न स्थानलाई टार्गेट गरि लुुटपाट गर्ने उद्देश्य रहेको खुलेको छ । उनीहरु यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पटकपटक मुुद्दा चलाइसकेको प्रहरी रेकर्डबाट खुलेको छ ।
समुहमा हिँड्ने र कसैले पैसा बोकेको पत्ता लगाएपछि पिछा गरेर लुुटपाट गर्ने सो समुहले उस्तै परे ज्यान लिने समेतका योजना बनाउने गरेको प्रहरीले बताएको छ । इटहरी आसपासमा दुुले चोरको विगविगी रहेका बेला यसरी डेरा नै जमाएर योजनाबद्ध रुपमा लुुटपाट गर्न आएको यो पहिलो केस भेटिएको इटहरी प्रहरीको भनाई छ ।