धरान: उदयपुरको बेलका नगरपालिकामा सब्जी खेती लगाउन गएका धरानका एक युवाको बाढीले बगाएर मृत्यु भएको छ ।

धरान ५ का ३५ बर्षीय कर्णबहादुर राईको कल्भर्टमा आएको बाढीले बगाएर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको हो । उनलाई बेलका नगरपालिका ३ भोटेपुल नजिक कल्भर्टमा आएको बाढीले बगाएर बेपत्ता पारेको थियो । वेपत्ता भएका राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी साउन १२ गते धरानबाट सब्जी खेती लगाउन बेलका ३ स्थित सिसौली टप्पु गएका थिए ।

उनी हिजो राती ८ बजे प्रदेश १-०२-००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा बाढीले बगाएको हो । सो कल्भर्टमा बाढी आएको देखेर चालकलाई गाडी रोक्न लगाएर गाडीबाट ओर्लेर बाटो नियाल्ने क्रममा राई अचानक बाढीले बगाएर वेपत्ता भएको बताइएको छ । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा आज बिहान ९ बजे बगाएको स्थान भन्दा करिव ५०० मिटर दक्षिण मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । सो घटनामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।