धरान: कोरोना संक्रमणको जोखिम बढेपछि धरानका उद्योगी, व्यवसायीहरुले सचेतना कार्यक्रम गरेको छ ।

सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले हिजो(बिहिबार) सचेतना कार्यक्रम गरेको हो ।संघले हिजो धरानको बजार क्षेत्रमा मास्क वितरण गरेको थियो । संघको कार्यालय देखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएको रोटरीका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।

पछिल्लो समय धरानका समुदायस्तरमा नै संक्रमण फैलिएको आशंका छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारमा आएका विरामी र एक जना डाक्टरका श्रीमान् संक्रमण पुष्टि भएको थियो भने धरान १३ मा पनि एक युवामा संक्रमण देखिएको थियो । योसँगै आज शुत्रबारदेखि धरान बजार बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । औषधी र खाद्यान्नजस्ता अत्यावश्यक पसल भने बन्द हुने छैन ।

Photo-2

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार धरानबासी र व्यवसायीहरुलाई कोरोनाबाट जोगिनको लागि आह्वान गर्दै नगरभरि माइकिङ्गसमेत गरिएको छ । यस्तै, सचेतनाको लागि मास्कसँगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको कार्यसमिति सदस्य विष्णु बरालले जानकारी दिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी गुल्मका डिएसपी सुमन पोखरेल, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल लगागत करिब ४५ जनाको सहभागिता रहेको थियो ।