इटहरीः लकडाउनकै बीचमा प्रहरीलाई केही गोप्य सुचना आइरहेका थिए । प्रहरीले ती सुचनालाई आधार मान्दै सम्भावित ठाउँमा नजर लगाए पनि लकडाउनले गर्दा पुर्ण ध्यान भने दिन सकेको थिएन ।
लकडाउनका कारण बढि समय भिडभाडयुक्त ठाउँमा ध्यान दिनुपर्ने अवस्थकै बीच साउन १३ गते प्रहरीलाई फरक नपर्ने सुचना आयो । इटहरीको विराटनगर लाइनस्थित ब्लू स्काई होटल लगायतका ठाउँमा यौनजन्य गतिविधि हुने सुराक पाए पनि उचित मौकामा त्यस्ता व्यक्ति पक्राउ गर्ने पर्खाइमा प्रहरी रहेको थियो । प्रहरीले सुचना पाउनसाथ दिउँसो १ बजे ब्लुु स्काई होटलबाट एक २२ वर्षीया महिला पक्राउ गर्यो । आपत्तिजनक अवस्थामा पक्राउ परेकी ती महिलाले होटल सञ्चालक सुनिता साउदले अपरिचत पुरुषसँग यौनकार्यमा लगाउने र पैसा लिने गरेको खुलासा गरिन्।
पीडितलाई उद्दार गरि तत्काल प्रहरीले आरोपित साउदलाई पक्राउ गरेको छ । उनलाई साउन १४ गते अदालतबाट थप म्याद लिइ अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक मान बहादुर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार इटहरीमा यस्तो कार्यमा सँलग्न अरुपनि रहेको सुचना आइरहेको छ । लकडाउनले गर्दा समाजमा आर्थिक संकट गहिरिँदै गएपछि थप गलत गतिविधि बढ्ने प्रहरीको आशंका रहेको छ । ‘समाजको आर्थिक अवस्था भत्केपछि नै हो अपराधिक कार्य बढ्ने पनि,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘आउने दिनमा समाज र प्रहरीका लागि चुनौतीपुर्ण हुने देखिन्छ । यस्ता गतिविधि बढ्दै जाने हो कि भन्ने प्रहरीको चिन्ता छ ।’
कुनै समय इटहरीमा यौनजन्य गतिविधि हुने शहरका रुपमा बद्नाम थियो । तत्कालित डिएसपी विनोद शर्माको नेतृत्वमा इटहरी प्रहरीले यसलाई न्यूनिकरण गर्न सहयोग पुर्याएको थियो । पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थलकोरुपमा रहेको इटहरीमा रातको समयमा केही तेस्रोलिंगीहरुले देखाउने उच्छृंखल गतिविधि बढिरहेको प्रति प्रहरीले चासोको रुपमा हेरिरहेको बताएको छ । राती १० बजेपछि सडकमा देखिने त्यस्ता व्यक्तिको निशाना ट्रकका चालक र कर्मचारी हुने गर्छन् । राजमार्ग छेउका मानव वस्तीबाट प्रहरीमा उजुरी आउन थालेपछि प्रहरीले यस्ता कार्यलाई निरुत्साहित गर्न निरन्तर गतिविधि गरिरहेको जानकारी दिएको छ ।