विराटनगरः उदयपुरको वेलका नगरपालिकाबाट विराटनगर ल्याइएका एक पुरुषको ज्यान गएको छ । वेलका नगरपालिका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेलाई मंगलवार राती कोशी अस्पतालमा भर्ना गरिएपछि राती १ बजे उनको निधन भएको अस्पतालका मेसुडाक्टर चुमनलाल दासले जानकारी दिए ।
दासका अनुसार मृतकको उच्च ज्वरो मापन गरिएको थियो । अस्पताल भर्ना लगत्तै लिइएको तापक्रममा १ सय ४ डिग्री ज्वरो देखिएको थियो । दासले परिवारका सदस्यसँग जानकारी दिँदा मृतकमा केहि दिन देखि जण्डिसको लक्षण र ज्वरो सँगै देखापरेको बताए । घरबाट कहिँ कतै ननिस्किएका ति व्यक्तिलाई वान्ता हुने, स्वासप्रश्वासमा समस्या हुने लक्षण देखिएपछि कोरोना हुनसक्ने भन्दै तत्काल स्वाव लिइ पिसिआर परिक्षण गराउन पठाइएको छ ।
हिजो मात्र कोशी आइसोलेटेड अस्पतालमा विराटनगर ५ का एक ७७ वर्षीय कोरोना सँक्रमित व्यक्तिको ज्यान गएको छ । मृतकको शवलाई अहिले नेपाल प्रहरीले स्कर्टिङ गरि नेपाली सेनाको डेडिकेटेड टोलीले मोरङको कानेपोखरीको जंगलमा अन्त्यष्टी गर्न लगेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।