विराटनगरः विराटनगरको कोशी अस्पतालमा भर्ना भइ उपचारका क्रममा निधन  भएका उदयपुर वेलकाका ५५ वर्षीय पुरुषमा कोरोना नभएको पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मँगलवार राती १ बजे निधन भएका वेलका १ का वेदप्रसाद न्यौपानेको मृत्यूपश्चात पिसिआर परिक्षणका लागि स्वाव सँकलन गरिएका थियो । केहि बेर अघि आएको उनको रिपोर्ट नेगेटिभ रहेको दासले जानकारी दिएका छन् । न्यौपानेलाई मंगलवार राति १ सय ४ डिग्री ज्वरोमापन गरिएको थियो । उनमा उच्च ज्वरोसहित स्वावप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो । शुरुमा बुढिगंगास्थित विराट मेडिकल कलेजमा लगे पनि कोरोनाको रिपोर्ट नआएसम्म भर्ना नलिने अस्पताल प्रशासनको अडानपछि न्यौपानेलाई कोशी अस्पताल पुुर्याइएको मृतकका आफन्तले जानकारी दिएका छन् ।