धरान: धरान ८ स्थित क्रञ्च फिटनेस कोरोनाको अर्को हटस्पट बन्ने संकेत देखाएको छ ।

पछिल्लो समय समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुमा केही क्रञ्च फिटनेस जाने गरेको तथ्य खुलेको छ । आज बिहानै पोजेटिभ रिपोर्ट आएका ९ जना मध्ये धरान १० का दुई महिला क्रञ्च फिटनेससँग जोडिएका छन् । यो फिटनेस जाने गरेका धरान १३ का युवा संक्रमण पुष्टि भएपछि नै बन्द गरिएको छ । सरकारले जिमहल, फिटनेसलगायत खुला नगर्न निर्देशन जारी गरेपनि धरानका कतिपय जिम हलहरु निर्देशन विपरीत चलेको थियो ।

अहिलेसम्म क्रञ्च फिटनेस जाने कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । धरान १३ का युवा पछि धरान ११ की एक ४० बर्षीय महिलालाई पनि संक्रमण पुष्टि भएको थियो । यस्तै, धरान १० का संक्रमण पुष्टि भएको एक पुरुष पनि क्रञ्च जाने गरेका थिए । आज धरान १० मा संक्रमण पुष्टि भएको १६ र २० बर्षीय युवती पनि बिहानको समयमा क्रञ्च जाने गरेको पाइएको छ ।

धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता क्रञ्च धरानको अर्को हटस्पट बन्ने खतरा भएको बताउँछन् । ‘क्रञ्च फिटनेससँग जोडिएका व्यक्तिहरुमा संक्रमण देखिदै गएको छ, यसले अर्को हटस्पट त्यो जिम हल बन्छ कि भन्ने देखियो,’मेहताले भने,‘क्रञ्चका सबैलाई पिसिआर गराउनुपर्ने अवस्था आयो ।’ धरानका मेयर तिलक राईले क्रञ्ज फिटनेस जानेहरुमा संक्रमण संख्या बढेकोले नामावली संलकन गर्ने कार्य भइरहेको बताए । ‘सबैको कन्ट्याक ट्रेसिङ गर्ने, नामावली संकलन गर्ने कार्य भइरहेको छ,’मेयर राईले भने,‘आजभोली नै स्वाब संकलन गछौं ।’

यसअघि धरान ८, तीनकुनेमा रहेको औद्योगिक क्षेत्रमा सञ्चालित प्रिति भल्भ उद्योगबाट पनि समुदायमा संक्रमण फैलिएको थियो । विभिन्न जिल्ला पुगेर आएका त्यहाँका कर्मचारीहरुलाई क्वारेन्टिनमा नराख्ने साथै उद्योग चलाउदा आवश्यक सुरक्षा नअपनाउदा संक्रमण समुदायमा पुगेको थियो । ती कर्मचारीबाट नै ट्राभल हिष्ट्री नभएका प्रिति भल्भका कार्यरत धरान १३ का युवामा पनि संक्रमण भएको थयो । उनी क्रञ्च फिटनेसमा जाने गरेका थिए ।