धरान: खानेपानीको मुहानमा गएर पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई हिजो एक दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत सुनसरीले एक दिनको मात्र म्याद थप गरेपछि प्रहरीले आज पुनः म्याद थपको लागि उनलाई अदालतमा उपस्थित गराउदैछ । यसअघि अदालतले साम्पाङलाई ५ हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसको म्याद हिजो आइतबार सकिए पछि इलाका प्रहरी कार्यालय धरानले अदालतमा उपस्थित गराएको थियो । ‘हिजो अदालतले एक दिनको म्याद थप गरेको थियो, आज फेरि पेश हुन्छ,’धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भने ।
डिएसपी बस्नेतका अनुसार साम्पाङको अभियोगमाथि अझै अनुसन्धान पुरा भइसकेको छैन । त्यसैले आज पनि म्याद थपको लागि नै अदालतमा पेश गरिने उनले बताए । साम्पाङविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड तथा अत्यावश्यक बस्तुमा अवरोध मुद्दा दायर भएको छ । उनीसँगै खानेपानी संस्थान, धरानका निमित्त प्रमुख रामकुमार श्रेष्ठविरुद्ध पनि जाहेरी परेको थियो । उनी भने फरार रहेको डिएसपी बस्नेतको भनाई छ । ‘हर्क साम्पाङको हकमा अनुसन्धान कार्य बाँकी नै छ, संस्थान प्रमुख फरार छन्,’डिएसपी बस्नेतले भने ।