धरान: अस्पतालको इर्मजेन्सी कक्ष अनि संवेदनशील हुन्छ । त्यहाँ गम्भीर प्रकृतिका विरामीहरु आइपुग्छन् । अझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी कक्षमा क्षमता भन्दा दोब्बर विरामीहरुको चाप हुन्छ ।
अहिले कोरोनाको महामारीले ओपिडी पनि सिमितरुपमा मात्र चलेको छ । यस्तो बेला विरामीहरु सिधै इर्मजेन्सी पुग्छन् । लक्षण भएको देखिएमा वा विरामीले भनेमा सर्तकता अपनाएर आइसोलेसन पठाउन सकिन्छ, तर लक्षण नै नदेखिए वा विरामीले पनि बताइदिएनन् भने स्वास्थ्यकर्मीहरु मात्र होइन, अन्य विरामी र तिनका आफन्तहरु पनि प्रत्यक्ष सम्पर्कमा पुग्छन् । जसले गर्दा प्रतिष्ठानको इर्मजेन्सी कक्ष पनि संक्रमणको उच्च जोखिममा छ । इर्मजेन्सीमा खटिने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त पिपिई पनि छैन ।
पछिल्लो पटक वीपीको इर्मजेन्सीमा संक्रमित झण्डै २४ घण्टा भन्दा बढी समय उपचारको क्रममा बसेको पाइएको छ । एक स्वास्थ्यर्मीका अनुसार बुधबार एक जनालाई शंकास्पद मानेर इ एरियामा आइसोलेट गरेर राखिएको थियो भने एक जना विरामी इर्मजेन्सीको सि २ एरियामा उपचार गरिएका थिए, जहाँ अन्य विरामीहरु पनि हुन्छन् । ती विरामी इर्मजेन्सीबाट सर्जरी युनिट १ मा सिफ्ट भएका थिए । सर्जरी वार्डमा पुगे पछि उनको पिसिआर परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आयो ।
ती एक स्वास्थ्यकर्मीका अनुसार अर्का एक जना विरामी पनि सि १ एरियामा थिए । उनलाई भने त्यहाँबाट आइसोलेसनमा पठाइएको थियो । ‘एक जना इ एरियामा राखिएको थियो, उनीहरुको रिपोर्ट पोजेटिभ आएछ,’ती स्वास्थ्यकर्मी भन्छन्,‘वीपीमा अलग्गै कोभिड १९ हस्पिटल छ भनिन्छ, तर इर्मजेन्सीको इ एरियालाई नै आइसोलेसन जस्तो बनाएको छ । त्यहाँ काम गर्नेलाई आइसोलेसनमा पनि राख्दैन, सुरक्षित नै भइएन ।’
स्वास्थ्यकर्मीका अनुसार इर्मजेन्सीका विरामीहरुले प्रयोग गर्ने एक्स रे, अल्ट्रासाउण्डलगायत उपकरण एउटै छ । कोरोना पोजेटिभ रिपोर्ट आएमा अन्य विरामीहरुमा संक्रमणको उच्च जोखिम हुन्छ । यसतर्फ विभाग र अस्पताल प्रशासनले गम्भीर ध्यान दिनुपर्ने ती स्वास्थ्यकर्मी बताउँछन् । अन्य वार्डमा पोजेटिभ देखिए सिल भए पनि इर्मजेन्सी सिल गरेर डिस्इन्फेक्ट पनि नगरिएको उनको गुनासो छ । इ एरियामा काम गर्नेहरुलाई क्वारन्टिनमा नराखिने उनले बताए । विभागीय प्रमुख डा.ज्ञानेन्द्र मल्लले विभागका अन्य कसैको पनि कुरा नसुन्ने प्रवृत्ति रहेको उनको भनाई छ । ‘यस्तै तरिकाले वीपी कोरोनाको हटस्पट बन्ने पक्का छ,’उनी थप्छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटा इर्मजेन्सीमा आउने विरामीहरुलाई शंका लाग्ने बित्तिकै इ एरियामा राखिने गरिएको बताउँछन् । ‘ज्वरो नआएको विरामी पनि आएका हुन्छन्, त्यसैले पनि थाह पाइदैन । तर शंका लाग्ने बित्तिकै इ एरियामा राख्छौं,’सापकोटाले भने।
इर्मजेन्सीका ३८ जनाको स्वाब लिइयो
विभागीय प्रमुख डा.ज्ञानेन्द्र मल्लका अनुसार सर्जरी वार्डमा पोजेटिभ देखिएका विरामी इर्मजेन्सी सि २ बाट सिफ्ट भएको हुनाले त्यसबेला संलग्न स्वास्थ्यकर्मीहरुको सोमबार स्वाब संकलन गरिएको छ । इर्मजेन्सीका कुल ३८ जनाको स्वाब लिइएको उनको भनाई छ ।
स्वाब लिएकाहरु सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिएको डा.मल्लले बताए । ‘विरामीलाई वार्डमा पठाइसके पछि मात्र रिपोर्ट पोजेटिभ आयो, हाम्रो ३८ जनाको स्वाब लिएर आइसोलेट भएर बस्न भनेको छौं,’उनले भने,‘इर्मजेन्सीमा काम गर्ने १६० जना छौं, एकै पटक यति धेरै बस्दा चाप बढ्छ ।’ उनले इर्मजेन्सीमा एकदमै धेरै जोखिम भएको स्वीकार गरे । अन्य वार्डलाई जस्तो इर्मजेन्सीलाई सिल गर्न पनि नसकिने उनको भनाई छ । ‘हामी रिस्कमा छौं, तर के गर्ने ? विरामीलाई लक्षण देखिएको हुदैन, ज्वरो आए पनि नबताउन सक्छन्,’उनी भन्छन्,‘कि त पिसिआर रिपोर्ट छ भने मात्र इर्मजेन्सीमा भर्ना लिने भन्नुपर्यो, हामी त्यसो गर्न सक्दैनौं ।’
उनले शंकास्पद विरामी आए तत्काल इ एरियामा राखेर पिसिआर गर्न पठाएर व्यवस्थापन गरिरहेको बताए । डा.मल्लाका अनुसार अहिलेसम्म इर्मजेन्सीमा आएका विरामीमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । ‘इर्मजेन्सी केस हेर्दिन भन्न सकिन्न । कि त काम नगरी सिल नै गर्नुपर्छ, त्यो कतिको उति हो ?’उनले भने ।