सुनसरी: कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाए पनि फरार सुनसरीका दुई जनालाई १३ बर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार बक्लौरी ६ का ३२ बर्षीय तुलसी चौधरी र सोही ठाउँका टाइसन भनिने ३२ बर्षीय मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत सुनसरीले २०७१ साउन २९ गते कर्तव्य ज्यान मुद्दामा कैद फैसला सुनाएको थियो । जसअनुसार तुलसी चौधरीलाई अदालतले २१ बर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने टाइसनलाई २० बर्ष कैद सजाय तोकेको थियो ।
दुबै जनाले २०६४ बैशाख २८ गते साथीको विवाहमा जन्ती गएको बेला तत्कालिन एकम्बा गाविस ४ का सुनेर कुमार ठाकुरलाई छुरा प्रहार गरी फरार भएका थिए । घाईते भएका ठाकुरको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । घटना पछि फरार दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । प्रहरीले साउन २६ गते रामधुनी नगरपालिका ६ बाट र चौधरीलाई ईनरुवा नगरपालिका ४ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तान गर्न झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।