विराटनगरः प्रदेश १ की सांसद कुसुम श्रेष्ठ र उनका श्रीमान् कोरोना संक्रमित भएका छन् ।

गत साउन २४ गते श्रीमानसहित उनको स्वाब धरानमा लिइएको थियो । श्रेष्ठ दम्पतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ तर उनीहरुको गाडीका चालकको रिपोर्ट भने नेगेटिभ आएको छ । सांसद दम्पत्ति २ छोरीको साथमा इटहरीमा बस्छन् । दुई छोरीको पनि आज स्वाब संकलनको तयारी छ । दुबै छोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको सांसद श्रेष्ठले क्लिक धरानलाई जानकारी दिइन् ।

गत साउन २३ गते सामान्य टाउको दुख्ने र हल्का ज्वारो आउन थालेपछि भोलीपल्ट स्वाब दिएको श्रेष्ठले बताइन् । कतै भिडभाडमा नगएपनि कहाँबाट कोरोना सर्यो भन्ने बारे श्रीमान नयन र उनी आफै अनभिज्ञ छन् । हाल स्वास्थ्यमा कुनै समस्या नरहेको र चिकित्सकको सल्लाह बमोजिम कहाँ आइसोलसनमा रहने भन्ने परामर्श लिइरहेको सांसद श्रेष्ठले जानकारी दिइन् ।

उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई तत्काल स्वाब दिएर पिसिआर जाँच गर्न पनि आग्रह गरेकी छिन् । आफु संक्रमित रहेको थाहा पाउने बित्तिकै सामाजिक सञ्जाल फेसबुमार्फत एक सन्देश दिँदै श्रेष्ठले लेखेकी छिन्,'कोभिड १९ को महामारीबाट अछुत रहन सकिएन । २४ गते स्वाव परिक्षण गराएकोमा आज रिपोर्ट पोजेटिभ आएको छ । नयन जी (श्रीमान) र म सँग एक हप्ताभित्र सम्पर्कमा रहनुहुने सम्पुर्ण महानुभावहरू सचेत र सजक रहनुहोला ।'