धरान: नेकपाका समानुपातिक सांसद र श्रीमान्सहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८ जनाको पिसिआर पोजेटिभ आएको छ ।
ती मध्ये धरानका मात्र ६ जना हुन् । पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा नेकपाकी समानुपातिक हुन् । उनी इटहरी ४ मा बस्दै आए पछि धरानको वडा नं १५ मा स्वाब संकलन हुदै गर्दा आएर श्रीमान्सँगै स्वाब दिएकी थिइन् । उनको र श्रीमान्को पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने चालकको नेगेटिभ आएको छ ।
यसैगरि, धरानमा थप संक्रमण भएकोहरुमा वडा नं १५ को ३ जना रहेका छन् । उनीहरु ३३ बर्षको पुरुष, ६९ बर्षको पुरुष र ३७ बर्षकी महिला छन् । यस्तै, वडा नं १६ का २५ बर्षको पुरुष र २१ बर्षको पुरुष पनि संक्रमित भएका छन् । साथै, वडा नं ८ को ३८ बर्षको पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
एक जना धरान १८ को ठेगाना लेखाएको व्यक्तिको पनि रिपोर्ट पोजेटिभ आएको छ । तर, उनी वडा नं १८ को नभएको वडाअध्यक्ष प्रविण राईले बताए । ती व्यक्ति वीपी प्रतिष्ठानभित्रै रहेको हुनसक्ने उनको भनाई छ । स्वास्थ्य महाशाखा प्रमुख मेहताले पनि स्वाब संकलन गरिएको धरानको लिष्टमा ती व्यक्तिको नाम नभएकोले वीपी भित्रैबाट स्वाब परीक्षण गरिएको हुनसक्ने बताए ।