धरान: धरान उपमहानगरपालिका वडा नं १६ मा आज कोरोना संक्रमण पुष्टि भएका २ जना मध्ये एक सब इञ्जिनियर भएको खुलेको छ ।

उनी वडा नं १६ मा डेरा गरि बस्ने भएपनि ७ नम्बर वडा कार्यालयमा सबइञ्जिनियरकोरुपमा कार्यरत भएको पाइएको हो । उनी वडा नं ७ मा झण्डै २ महिनादेखि कार्यरत छन् । उनी धरान १६ स्थित जुनेली पथ(बालिका स्कुल दक्षिण)मा डेरा लिएर बस्छन् । वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले अनुसार ती कर्मचारी डेरामा एक्लै बस्ने र वरपरसँग सम्पर्कमा नरहने पाइएको बताए । ‘कोठामा पनि एक्लै बस्ने रहेछ । सिधै काममा जाने, र सिधै कोठामा आउने भएकोले यहाँ अरुसँग सम्पर्क भएको रहेनछ,’उनले भने ।

वडा नं ७ का अध्यक्ष जीवन सुवेदीले ती सब इञ्जिनियर वडा कार्यालयबाट साउन १६ गतेदेखि विदामा भएको जानकारी दिए । आफुसँग साउन १५ गते कार्यालयमा भेट गरेर विदा मागेको अध्यक्ष सुवेदीले बताए । ‘साउन १५ गते मसँग कार्यालयमा भेटेर विदा मागेको थियो । १६ गतेदेखि उ कार्यालय आएकै छैन,यही बीचमा लकडाउन पनि भयो,’वडा ७ का अध्यक्ष सुवेदीले भने,‘मेरो पनि पिसिआर जाँच गराउछुँ, अरु कर्मचारी र कन्ट्याकमा भएकाहरुको पनि गराउछौं ।’

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती सब इञ्जिनियरको घर महोत्तरी जिल्ला हो । त्यसैले उनी जनकपुर, घर आउजाउ गरेको हिष्ट्री छ । ‘घर पनि गएको थिएँ भन्छ । त्यसैले उनलाई उतैबाट संक्रमण भएको हुनुपर्छ,’मेहताले भने,‘कन्ट्याक ट्रेसिङ गरेर स्वाब संकलन गछौं ।’ आज बिहानै धरान बाहिरका २ जनासहित ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसमध्ये धरान १६ का २ जना थिए । ती मध्ये एक सब इञ्जिनियर हुन् भने अर्की एक महिला २१ बर्षकी धरान १६ विकास मार्गका हुन् । उनी अध्ययनको लागि विराटनगर गएको तर गत फागुनदेखि नै धरानमै घरमा बसिरहेको वडा १६ का अध्यक्ष गिरीले जानकारी दिए ।