धरान: नेपाल विद्यार्थी संघ र तरुण दलले आज पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाउने भएको छ ।

हिजो प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा लगाएको ताला केही समयमा नै प्रहरीले तोडेको थियो । प्रहरीले ताला तोडेपछि आज बसेको बैठकले पुनः तालाबन्दी गर्ने निर्णय गरेको हो । पार्टी नेतृत्वसँग परामर्श लिए पछि नेतृत्वले ग्रिन सिग्नल दिएकोले दुवै भातृ संगठनले आज पनि तालाबन्दी गर्ने भएको हो । तालाबन्दीको खबर फैलिएसँगै प्रतिष्ठानको मेन गेट(मुख्य प्रवेशद्धार)मा सुरक्षाकर्मी परिचालन गरिएको छ । जनपद प्रहरीसँगै सशस्त्र प्रहरी पनि प्रतिष्ठानमा परिचालन गरिएको छ ।

प्रतिष्ठानको पदाधिकारीहरु सिनेट बैठकको लागि काठमाण्डौं गएका छन् । कोरोना महामारीले धरान आक्रान्त भइरहदा पनि कोभिड १९ अस्पताल शुरुवात गर्न नसकेको र पदाधिकारीहरु स्वार्थ पुर्तिको लागि बैठक बस्न काठमाण्डौं गएको भन्दै नेवि संघ र तरुण दलले हिजो तालाबन्दी गरेको थियो । उनीहरुले कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउनुपर्ने, सिनेट बैठक स्थगित गरेर प्रतिष्ठान आउन र कोरोना नियन्त्रण, रोकथाममा गम्भीरतापुर्वक लाग्नुपर्नेलगायत माग गरेका छन् । यस्तै, कोभिड १९ अस्पताल चाडो सञ्चालन गरेर त्यहाँ २५ प्रतिशत बेड धरानबासीको लागि छुट्याउनुपर्ने पनि माग गरेका छन् ।